
विराटनगर । विराटनगर-१ शान्ति चोकमा आजबाट ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ । जेनजी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोको संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै खनालले निजी पूर्ण लेखापरीक्षणको नाममा व्यवसायीलाई त्रसित बनाउने कार्य बन्द गरिएको जानकारी दिए । उनले तथ्याङ्क विश्लेषण गर्दा पूर्ण अडिटबाट राजस्व वृद्धिमा खासै योगदान नपुगेको बरु व्यवसायीले दुःख पाएको र बिचौलिया मौलाएको पाइएकाले अब ‘जोखिममा आधारित परीक्षण’ प्रणाली लागू गरिएको बताए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले एक्स्पोबाट स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै जेनजी आन्दोलनपछि सुस्ताएको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गरे ।
पुस १९ गतेसम्म चल्ने एक्स्पोमा २ सय बढी स्टलहरू राखिएका छन् । जसमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान लगायत देशका विभिन्न उत्पादन तथा कला-संस्कृति, पर्यटन, शिक्षा, आदिको प्रर्दशनी राखिएको छ ।
११ दिनसम्म चल्ने एक्स्पोमा लगातार आठ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई, सूचना प्रविधि लगायत विषयहरूमा थिमेटिक सेसन सञ्चालन गरिने छ । एक्स्पोको २ लाख बढी दर्शकले अवलोकन गर्ने तथा ३० करोड रुपैयाँसम्म आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।

संगालोखबर 













