संगालोखबर


विराटनगर । पूर्व महासेनानी तथा जनादेश पार्टीका नेता माधवसुन्दर खड्काले नयाँ वैकल्पिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले पुराना दललाई परास्त गर्न नयाँ वैकल्पिक शक्ति एकजुट हुनुपर्ने बताएका हुन् ।

‘नयाँ वैकल्पिक शक्तिहरूलाई एकजुट गर्नसकिन्छ र एउटै शक्ति बनाएर अघि बढ्न सकिन्छ की भनेर हामी प्रयासरत छौं’, उनले भने, ‘तर अहिले सबैलाई आफैँ पार्टी सभापति बन्नै पर्ने र सबैले आफैँलाई प्रधानमन्त्री बन्ने भविष्य निर्धारण गर्नुपर्ने अवस्थाले समस्या देखिएको छ ।’

Advertisement

उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग मिलेर जाने स्थिति नदेखिएको बताए । ‘उहाँको सुरुवाती चरणदेखि नै रवि लामिछानेसँग तिक्तता रहेको अवस्थामा अहिले बालेन र कुलमान घिसिङसँग पनि खटपट भइरहेको अवस्था छ’, नेता खड्काले थपे, ‘हर्क साम्पाङसँग मिलेर जाने स्थिति देखिएन । अन्य नयाँ शक्तिले गठबन्धन गरेर जान सकियो भने पुराना तीन वटा शक्तिको दबदबा निमूर्ल गर्न सकिन्थ्यो की भन्ने हो ।’

ठूला दलहरूले पुरानै अनुहारलाई अगाडि बढाएर नयाँ पुस्तालाई स्थान नदिने परिस्थितिका कारण आगामी चुनावमा आधा सिट घट्न सक्ने उनको दाबी छ । नयाँ वैकल्पिक शक्तिहरू एकजुट भएर तीन वटा पार्टीलाई ठेगान लगाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

‘नयाँ दलहरू एकजुट हुनुपर्छ’, उनले भने, ‘सकेसम्म एकीकरण, नभए गठबन्धन र मोर्चाबन्दी गरेर चुनावमा भाग लिनुपर्छ । जसले तीन वटा ठूला पार्टीलाई ठूलो धक्का लगाउन सकिन्छ ।’

जेनजीका मागलाई सम्बोधन गर्दै सरकार अघि बढ्नुपर्ने उनले उल्लेख गरे । यस्तै उनले २०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरू, राजनैतिक र बिचौलियाहरूको सम्पत्ति छानविन हुनुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!