संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर मंसिर महिनामा ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार मंसिर महिनामा भएका पाँच सय ८१ दुर्घटनामा ३२ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा नौ सय ७९ जना घाइते भएका कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । चालकको लापरबाहीका कारण सबैभन्दा बढी दुर्घटना भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Advertisement

मंसिर महिनामा भएका दुर्घटनामध्ये चार सय ६५ वटा अर्थात ८० प्रतिशत चालकको लापरबाहीका कारण भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै यात्रुको लापरबाहीका कारण ५५ वटा अर्थात ९.५, सडकको अवस्थाका कारण ३१ वटा अर्थात ५.३ र सवारी साधनको कारणले २३ अर्थात ४ प्रतिशत दुर्घटना भएका छन् ।

यसैगरी मौसमको कारण ४ वटा अर्थात ०.७ र पशुचौपायाका कारणले ३ वटा अर्थात ०.५ प्रतिशत दुर्घटना भएका कार्यालयले जनाएको छ । दुर्घटना न्यूनिकरणका लागि मंसिर महिनामा एक हजार तीन सय ९३ वटा समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम गरिएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने चार सय ५३ जनालाई कारबाही गर्दा दुई लाख ३७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यस्तै चार सय १५ जना चालक, सहचालक तथा यात्रुहरूको निःशुल्क आँखा परीक्षण गर्दा १२ जना चालकमा मोतियाबिन्दु देखिएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!