
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले अनुमति पाएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई निर्वाचन आयोगले पर्यवेक्षणको जिम्मेवारी दिएको हो ।
निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपछि कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त भएको थियो । यसमध्ये ४४ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्थाहरूले निर्वाचन पर्यवेक्षण गर्न इच्छा देखाएका थिए ।
तीमध्ये तोकिएका आधार र प्रक्रिया पूरा गरेका २७ वटा राष्ट्रिय संस्थाहरू र चार वटा अन्तर्राष्ट्रिय संस्थाहरू गरी जम्मा ३१ वटा संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने निर्णय आयोगले गरेको छ ।
पर्यवेक्षणका लागि अनुमति पाएका राष्ट्रिय संस्थाहरूमा डेमोक्रेसी रिसोर्स सेन्टर, नेपाल, सामूहिक अभियान, नेपाल मानव अधिकार संगठन, युवा वकालत नेपाल, निर्वाचन पर्यवेक्षण समिति नेपाल, लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), संघीय बहसमा युवा, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल रहेका छन् ।
यस्तै नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल, सुशासन महासंघ नेपाल, राष्ट्रिय व्यवसायिक पहल, महिला कानून र विकास मञ्च छन् ।
यसैगरी बागेश्वरी असल शासन क्लब (बास), समृद्ध आधार नेपाल, कानूनी न्यायिक अध्ययन प्रतिष्ठान, महिला सेवा संस्था नेपाल, युवालय, विश्व उपभोक्ता महासंघ नेपाल, उन्नत नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र सञ्चारिका समूह नेपालले पनि पर्यवेक्षण गर्नका लागि अनुमति पाएका छन् ।
चार वटा अन्तर्राष्ट्रिय संस्थाहरूमा द कार्टर सेन्टर एटलान्टा, द मल्टिडिसिप्लिनरी इन्स्टिच्युट अप ट्रेनिङ एण्ड लर्निङ म्यासेच्यूट्स, इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट र एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (एएनएफआरईएल) छन् ।

संगालोखबर 













