
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।
क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार एक सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ ।
आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ पालिकामा क्षति भएको थियो । प्रतिवेदनअनुसार १२ हजार ६ सय ५९ वटा गाडी क्षति हुँदा १२ अर्ब ९३ लाख ६१ हजार साथै सरकारी र सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
त्यसैगरी, दुई हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ र त्यसमा पनि क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतिवेदन अनुसार सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत, प्रदेशको १० र पालिकाको २२ प्रतिशत छ ।
प्रतिवेदन अनुसार आन्दोलनका कारण दुई हजार नौ सय ९९ जनाको रोजगारी प्रभावित बनेको छ । साथै १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबर वस्तु तथा सेवा उत्पादन प्रभावित भएको छ ।

संगालोखबर 












