
धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । आज पार्टीको भेलालाई सम्बोधन गर्न धनकुटा आएका साम्पाङले यस्तो दाबी गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरे । देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै उनले आफूभन्दा देशभक्त देशमा कोही पनि नभएको उल्लेख गरे ।
पार्टी, जातधर्म, वर्ग र स्वार्थले छियाछिया पारेको देशलाई एउटै मालामा उन्न आफू लागिपरेको उनको भनाइ थियो । एक्लैले केही गर्न नसकिने भएकोले पार्टी दर्ता गरेर आफू सियोको रूपमा अघि-अघि जाने र सबैले धागो बनेर सहयोग गर्ने अपेक्षा गरेको उनले सुनाए ।
धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले श्रम गरेमा संसारको एक नम्बर देश बनाउन सकिने जिकिर गरे । श्रम संस्कृति पार्टी धनकुटाको आयोजनामा धनकुटा बसपार्कबाट र्याली निकालिएको थियो ।
बसपार्कबाट सुरु भएको र्याली मदन चोक, चुवाको बोट, परिचय मोड हुँदै तल्लो टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । सोही अवसरमा यलम्बर चोकमा पार्टी कार्यालय उद्घाटन पनि गरिएको छ ।

संगालोखबर 













