
विराटनगर । भन्सार एजेन्टहरूको आन्दोलन आज पनि जारी छ । मंगलबार भएको वार्ता सकारात्मक नभएपछि आज पनि एजेन्टहरूले पेनडाउन कायमै गरेका हुन् ।
यसबाट देशभरका भन्सार कार्यालयको काम प्रभावित हुँदा राजस्व सङ्कलन पनि प्रभावित भएको छ । मंगलबारको वार्तामा सरकारले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । तर भन्सार एजेन्ट महासङ्घले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएको छ ।
आज पनि सरकार र महासङ्घबीच वार्ताको प्रयास भैरहेको छ । महासङ्घले केही समयअघि संसदबाट पारित भएको नयाँ भन्सार ऐनका अन्यायपूर्ण प्रावधान संशोधन गर्न माग गर्दै आएको छ । मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन २०८२ का केही प्रावधानको विरोधमा भन्सार सेवा अवरुद्ध गरेको महासङ्घले जनाएको छ ।
नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग-व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।

संगालोखबर 













