
विराटनगर । विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म स्पोर्ट्स मिट हुन लागेको हो ।
स्पोर्ट्स मिट विराटनगरको सहिद रंगशाला, रानीस्थित जुटमिलको खेल मैदान, एभरेष्ट स्कुल तथा विराटनगरका अन्य खेल मैदानमा हुने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
शिक्षा क्षेत्रको समग्र उन्नयनका लागि खेलकुदले निर्वाह गर्ने शारीरिक, मानसिक, नैतिक तथा अनुशासनात्मक भूमिकालाई विशेष महत्व दिँदै स्पोर्ट्स मिट गर्न लागिएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले बताए ।
उनले प्याब्सन मोरङले २०६३ सालदेखि निरन्तर जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । विद्यार्थीहरूको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक भावना विकास तथा सर्वाङ्गीण व्यक्तित्व निर्माणलाई लक्षित गर्दै प्रत्येक वर्ष स्पोर्ट्स मिट गर्ने गरिएको प्याब्सन मोरङका सचिव देवी सिटौलाले बताए ।
प्रतियोगितामा मोरङ जिल्लाका २३५ विद्यालयहरूबाट ३ हजारबढी विद्यार्थी खेलाडीहरू सहभागी हुनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । कार्यक्रमको उद्घाटन मंसिर १९ गते शुक्रबार ११ बजे हुने सचिव सिटौलाले जानकारी दिए ।
मोरङ जिल्ला फुटबल संघ, क्रिकेट संघ, बास्केटबल संघ, भलिबल संघ, टेबलटेनिस संघ तथा एथलेटिक्स संघको प्राविधिक सहयोगमा खेलहरू सञ्चालन गरिने आयोजकले जनाएको छ ।

संगालोखबर 













