इन्दु साह/संगालोखबर


विराटनगर । सबैका फरक–फरक कथा हुन्छन् । ती कथाभित्र आ-आफ्नै दुःख पनि लुकेको हुन्छ । तिनै मध्ये यो कथा विराटनगर-१७ रानीकी ३५ वर्षीया मोनी खातुनको हो । उनको दैनिकी विराटनगर-६ स्थित ब्रम्हपुरास्थित ‘डम्पिङ साइट’ मा बित्ने गरेको छ । त्यहीँबाटै उनले जीविकोपार्जनसँगै छोराछोरीको शिक्षादीक्षाको खर्च जोहो गर्छिन् ।

बिहानको घामसँगै उठ्ने धुलो र दुर्गन्धको कुनै प्रवाह नगरी मोनी हरेक दिन बिहान ९ बजे ‘डम्पिङ साइट’ मा पुग्छिन् । साँझ ५ बजेसम्म कार्टुन, प्लास्टिक, बोतल, फलाम र अन्य पुनः प्रयोग योग्य सामग्री सङ्कलन गर्छिन् । उक्त सामग्री कवाडीमा बेचेर उनले आयआर्जन गर्दै आएकी छन् ।

Advertisement

फोहोरको थुप्रोबाट कवाडीमा बिक्री गर्न मिल्ने सामग्री खोजिरहेकी उनको नजिक पुग्दा लजालु स्वभावमा भनिन्, ‘फोटो खिचै आए छै ?’ मिठास शैलीमा बोल्ने उनले पेट पाल्न र छोराछोरी पढाउनकै लागि फाहोरको थुप्रोहरू खोस्रनु परेको बताइन् ।

‘गनाउन त गनाउँछ, तर पेटले गन्ध मान्दैन नि’, आफूले लगाएको जुत्ता देखाउँदै उनले भनिन्, ‘यो जुत्ता पनि फोहोरमै भेटलियै, साफ-सुगर छ, तैस लगेलियै ।’ यसरी नै दिनको पाँच सय रुपैयाँसम्म कमाउने गरेको उनले सुनाइन् ।

यति सानो आम्दानीले घर चलाउन समस्या हुँदैन ? भन्ने प्रश्नमा उनी मुस्कुराइन । ‘अभाव त सबैको जीवनमा छ । तर काम गर्छु, पुगेकै छ । दिनको पाँच सय कमाउँछु’, उनले थपिन् ।

मोनी मात्र हैन उनका श्रीमान् पनि कवाडीका सामान संकलन गर्न विभिन्न ठाउँमा पुग्छन् । उनीहरू दुबै जनाको कमाइबाट दुई सन्तानलाई निजी विद्यालयमा पढाएका छन् । छोरो ५ र छोरी ६ कक्षामा पढिरहेको उनले बताइन् ।

‘आफूले पढ्न नपाएपनि छोराछोरीलाई पढाएर राम्रो स्थानमा पुर्याउने चाहना छ’, उनले भनिन्, ‘उनीहरूको जिन्दगी हाम्रो जस्तो नहोस् । आफूहरूले जति संघर्ष गरेपनि उनीहरूले सुख पाउन ।’

कति भयो यसरी कवाडीका सामान भेला पार्न थालेको पनि उनलाई याद छैन । दुर्गन्धभित्र सुगन्ध खोजिरहेकी उनको मुहारमा हाँसोसँगै संघर्षको सन्तुष्टि झल्किन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!