
विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि दुर्व्यवहार तथा आक्रमणको प्रयास भएको भन्दै एमाले कोशी प्रदेश कमिटीले घोर भर्त्सना गरेको छ । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा दुर्व्यवहार र आक्रमणको प्रयास निन्दनीय भएको उल्लेख गरिएको छ ।
एमाले नेता ढकाल र बस्नेत काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै आज बिहान इटहरीमा हुने युवा जागरण कार्यक्रममा जाने क्रममा केही युवाले उनीहरू सवार गाडीमा रातो मसी छयाप्ने प्रयास गरेका थिए ।
राजनीतिक व्यक्तिमाथि गरिएको रातो मसी छयाप्ने, भीड उकास्ने, बाटो अवरुद्ध गर्ने र शारीरिक आक्रमणको प्रयास गर्ने कार्य अत्यन्त गम्भीर, आपराधिक र पूर्णरूपमा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता कृयाकलाप लोकतन्त्रको आधारस्तम्भ मै प्रहार गर्ने, मानव अधिकारको खुला उल्लंघन गर्ने र राजनीतिक हिंसा भड्काउने संगठित प्रवृत्तिका आचरण भएका एमाले कोशीको ठहर छ ।
‘यसअघि बाराको सिमरामा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत सहितका नेताहरू सहभागी हुने कार्यक्रमपछि उत्पन्न घटनाहरू दोहोरिँदै जानुले सरकार यस्ता घटनाका दोषीलाई संरक्षण गरिरहेको छ भन्ने स्पष्ट पारेको छ’, विज्ञप्तिमा भनिएको छ ।
नेकपा एमाले यस्ता घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारवाही गरि भविष्यमा कुनै पनि राजनीतिक व्यक्तिमाथि आक्रमण, अवरोध जस्ता कार्य दोहोरिन नदिन अपिल गरेको छ ।


संगालोखबर 













