
धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा आज बसेको निर्वाचन समितिको बैठकको निर्णय अनुसार मंसिर १३ गतेसम्मको तालिका सार्वजनिक गरिएको हो ।
कार्यतालिका अनुसार आज मतदाता नामावली प्रकाशन गरिएको छ । यस्तै, भोलि साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी-विरोधको समय निर्धारण गरिएको छ । ९ गते दिउँसो १ बजेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
१० गते बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन र दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी-विरोधको समय तोकिएको छ ।
११ गते दिउँसो ४ः५० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यस्तै १४ गते मतगणना र सोही दिन ४ बजेपछि निर्वाचनको परिणाम घोषणा गर्ने योजना बनाइएको छ ।
सहमतिबाटै प्रतिनिधि छनोटको प्रयास गरिने र सहमतिबाट टुङ्गिन नसकेमा मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो । धनकुटामा खुल्लातर्फ ७ जना, महिला ४ जना, ४० वर्षमुनिका युवा १ जना र एक जना दलित गरी महाधिवेशनका लागि १३ जना प्रतिनिधि छनौट हुनेछन् ।

संगालोखबर 













