
काठमाडौं । २ लाख ९ हजार ५ सय ५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार यो तथ्याङ्क गत असोज १० गतेदेखि मंगलबारसम्मको हो ।
मंगलबार एकै दिन २३ हजार ६ सय ३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्यले मंगलबार नाम दर्ता गराएका हुन् ।
आयोगका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८ सय भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगले जनाएको छ ।

संगालोखबर 













