
सुनसरी । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् । आज एमाले सुनसरीले इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका राईले यस्तो बताएका हुन् ।
यस्तै उनले जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देशमाथि आक्रमण भएको उल्लेख गरे । ‘विद्यालयका साना-साना विद्यार्थीहरूलाई पोशाकमै कसले बोलायो ? ती साना अबोध बालबालिकामाथि कसले गोली चलायो ?’, नेता राईले भने, ‘विद्यार्थीहरूको टाउकोमै कसरी गोली लाग्यो ? यी सबै घटनाहरूको सूक्ष्म छानबिन हुनुपर्छ ।’
बैठकलाई सम्बोधन गर्दै उनले देश तथा विदेशका षड्यन्त्रकारीहरू अझै सलबलाई रहेको उल्लेख गरे । देश, संविधान र गणतन्त्रात्मक व्यवस्था रक्षाका लागि एमाले एक भएर लाग्नु पर्ने उनको भनाइ थियो ।
नेता राईले देशलाई संवैधानिक बाटोमा ल्याउने एकमात्र विकल्प संसद् पुनर्स्थापना मात्रै भएकाले सबै दलहरू संसद् पुनर्स्थापनाको पक्षमा आउनुपर्ने उल्लेख गरे ।

संगालोखबर 













