
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन भइरहेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै असोज १० गतेबाट सुरु भएको मतदाता नामावली संकलनमा नाम दर्ता गराउनेको संख्या बढ्दो छ । जसमा जेनजी पुस्ता अगाडि देखिएको छ ।
जेनजी पुस्ताका अशोक कामत विराटनगर बसेर पढिरहेका छन् । उनको घर सिराहा हो । आगामी निर्वाचनका लागि मतदाता बन्न पाउँदा उनी उत्साहित देखिन्थे । उनले बिहीबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
‘आगामी निर्वाचनमा भोट हाल्न योग्य हुन पाउँदा खुसी लागेको छ’, उनले भने, ‘जेनजी पुस्ताको सहभागिताले देशमा परिवर्तन आउँछ भन्ने लागेको छ । सबैजनाले राम्रो उम्मेदवारलाई रोज्नुपर्छ ।’
मोरङको ग्रामथान गाउँपालिका-५ का जिवनकुमार माझी पनि निर्वाचन कार्यालयमा भेटिए । मतदाता नामावलीमा नाम दर्ता गराएका उनको मुहारमा छुट्टै चमक देखिन्थ्यो । ‘आगामी निर्वाचनमा मतदान गर्ने अधिकार प्राप्त हुँदा खुसी छु’, उनले भने ।
विराटनगर-१२ का सुधिर महतोले जेनजी सरकार निर्माण हुने अपेक्षा गरेको बताए । मतदाता नामावलीमा नाम दर्ता गराउन आएका उनले भने, ‘जेनजीको सरकार बनोस् भन्ने चाहना छ । सबैलाई जेनजीको सरकार बनाउन पनि आग्रह गर्दछु ।’
यी केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेमध्ये धेरै जेनजी पुस्ताका छन् । कार्यालयका अनुसार असोज १० देखि कात्तिक २० गतेसम्म ५ हजार बढी नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । जसमा ८० प्रतिशत बढी जेनजी पुस्ता छन् ।
कोशी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी युवराज गुरागाईका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउन जेनजी पुस्ताको उपस्थिति बाक्लिएको छ । ‘आन्दोलन अघि मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको संख्या १५/२० जना मात्रै हुन्थ्यो’, निर्वाचन अधिकारी गुरागाईले भने, ‘अहिले दुई/तीन सय जना आउनुहुन्छ । जसमा जेनजी पुस्ता बढी हुनुहुन्छ ।’
बिहीबारसम्म प्रदेश निर्वाचन कार्यालयमा दुई हजार बढी महिला र तीन हजार बढी पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

इन्दु साह/संगालोखबर 













