
धनकुटा । चक्रवात ‘मोन्था’ को प्रभावका कारण केही दिनअघि परेको अविरल वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख बराबरको क्षति पुगेको हो ।
कात्तिक १२ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । २ हजार ५ सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजार ४ सय १५ मेट्रिक टन धानमा क्षति पुगेको केन्द्रका प्रमुख नगेन्द्रबहादुर राना मगरले जानकारी दिए ।
धान बालीमा मात्रै ४१ करोड ५२ लाख बढीको क्षति भएको छ । काटिसकेको ४ हजार ५ सय ३० दशमलव २४ मेट्रिक टन, काट्न बाँकी ७ हजार ७ सय ९३ दशमलब ५२ मेट्रिक टन, कलिलो ढलेको धान ४ दशमलब ८ मेट्रिक टन र पाक्न बाँकी हरियो धान ८६ दशमलव ४ मेट्रिक टनमा क्षति पुगेको मगरले बताए ।
प्रमुख रानाका अनुसार कोदो बालीमा पनि क्षति भएको छ । १३ दशमलब ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ३० दशमलव ७ मेट्रिक टन कोदो बालीमा क्षति पुगेको उनको भनाइ छ । जसको मूल्य करिब १५ लाख ३५ हजार हुन आउँछ ।

संगालोखबर 













