
विराटनगर । मोरङ र सुनसरी जिल्लामा बहु-दीर्घकालीन रोगको अध्ययन गरिने भएको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको अगुवाइमा हुन लागेको अध्ययनको नेतृत्व विराटनगरका डाक्टर उदय नारायण यादवले गर्नेछन् । उनी अस्ट्रेलियामा अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा कार्यरत प्रोफेसर हुन् ।
अध्ययनको बारेमा जानकारी गराउन गरिएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरूले अध्ययनको पृष्ठभूमि, उद्देश्य, अनुसन्धान विधि तथा अपेक्षित परिणामबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । युनिभर्सिटीका तर्फबाट प्रोफेसर डाक्टर यादव र प्रोफेसर डाक्टर हरिबन्धु शर्माले अध्ययनका बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरू, विभिन्न प्रदेश र स्थानीय तहका स्वास्थ्य प्रमुखहरू, अस्पतालका प्रतिनिधि र सार्वजनिक स्वास्थ्यका विज्ञहरूको सहभागिता थियो ।
सहभागीहरूले बहु-दीर्घकालीन रोगहरू (जस्तै : मधुमेह, उच्च रक्तचाप, हृदय रोग, फोक्सो र मृगौला सम्बन्धी समस्या) नेपालमा द्रुत रूपमा बढ्दै गएको बताए । उनीहरूका अनुसार यस्तो अध्ययनले रोगहरूको सामूहिक व्यवस्थापन, प्रारम्भिक निदान र दीर्घकालीन उपचारको प्रभावकारिता बुझ्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।
पूर्व सचिव डा. पोखरेलले यस अध्ययनले नीति निर्माणदेखि व्यवहारिक स्वास्थ्य सेवा सुधारसम्मको क्षेत्रमा मार्गनिर्देशन प्रदान गर्ने विश्वास गरे । उनले भने, ‘नेपालजस्तो विकासोन्मुख देशमा बहु रोग व्यवस्थापनका चुनौतीहरू उच्च छन् । यस्तो अनुसन्धानले हामीलाई समग्र स्वास्थ्य प्रणाली सुधार गर्न वैज्ञानिक आधार तयार पारिदिनेछ ।’
कार्यक्रममा सहभागी विज्ञहरूले अध्ययनबाट प्राप्त हुने निष्कर्ष र सिफारिसलाई प्रदेश तथा सङ्घीय तहका स्वास्थ्य नीति र कार्यान्वयन योजनामा समायोजन गर्न आग्रह गरे । उनीहरूले प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहबीच सुदृढ समन्वय र दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको पनि स्पष्ट पारे ।















