
विराटनगर । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव छ । साथै पश्चिमी वायुको र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर साधारणतया बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशको थोरै स्थान, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ । केही स्थानमा मध्यम वर्षाको पनि सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा पूर्ण बदली रही तराई भू-भागमा अधिकांश बदली रहने छ । केही स्थानमा मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपात साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
शुक्रबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा पूर्ण बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ । केही स्थानमा हल्का, मध्यम र भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति कोशी, मधेश र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रहने छ भने तराई भू-भागमा साधारणतया बदली रहने छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपातको साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
कोशी प्रदेशको थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संगालोखबर 













