
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । व्यवस्था परिवर्तनको माग राख्दै उनले आन्दोलनको घोषणा गरेका हुन् ।
उनले यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको बताए ।
आज मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आन्दोलन मङ्सिर ७ गतेदेखि नै सुरु हुने बताएका हुन् ।
यो अभियान पशुपति र माता दुर्गालाई जोगाउने तथा घर छोडेर विदेश गएका नेपाली छोराछोरीलाई घर फर्काउने अभियान भएको उनले बताए । उनले सबै नेपाली नागरिकलाई यो व्यवस्था परिवर्तन गर्न आह्वान गर्दै मङ्सिर ७ गतेको आन्दोलनको लागि तयार रहन आग्रह गरे ।
उनले आन्दोलन लगभग २० दिनपछि सुरु हुने भएकाले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गरेका छन् । मानव अधिकार आयोगलाई पनि आन्दोलनको अग्रिम जानकारी गराएको उनले बताए ।

संगालोखबर 













