
विराटनगर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कोशी, मधेश र बागमती प्रदेश प्रभावित हुने भएका छन् । आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेकोले उत्तरतर्फ सर्दै १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म ‘मोन्था’ ले नेपालमा प्रभाव पार्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज विज्ञप्ति जारी गर्दै ‘मोन्था’ को प्रभावले मधेश र कोशीका धेरै तथा बागमतीका केही ठाउँमा मध्यम तथा मधेश र कोशी प्रदेशका एक/दुई ठाउँमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव उल्लेखनीय बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान छ । बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुलीमा यसको प्रभाव पर्ने सम्भावना छ ।
यस्तै मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको विभागले जनाएको छ ।


संगालोखबर 













