
विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गासम्बन्धी कारोबार नहुने जनाएको छ । अभिलेखहरू नहुँदा जग्गासम्बन्धी कारोबार प्रभावित भएको कार्यालयले जनाएको हो ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण महत्वपूर्ण अभिलेख नष्ट भएपछि कार्यालयले अभिलेखहरू पुनः कायम गर्न थालेको छ । कार्यालयका सूचना अधिकारी गोपाल दाहालका अनुसार २०७० देखि २०८२ सालसम्मका रजिष्ट्रेशन, मिसिल र अन्य लिखतहरू नष्ट भएका छन् ।
यसमा २०७५ सालदेखि हालसम्मका छिटफुट लिखत, २०७० सालका रजिष्ट्रेशन ‘क’ र ‘ख’, २०७२ साल वैशाखदेखि मंसिरसम्मका रजिष्ट्रेशन ‘ख’, २०७७ साल असार र साउन महिनाका लिखतहरू समावेश छन् ।
त्यस्तै भूमि प्रशासन (तत्कालीन) का सम्पूर्ण मिसिल, नगर नापी र तामेली मिसिल, अदालतका रजिस्टर र पत्राचार, जिम्दारी तथा बिटौरी लगतहरू जलेका छन् । यस्तै पुराना अभिलेखमध्ये २०३५ देखि २०५० सम्मका आंशिक, २०७५/७६ र २०७७/७८ का सम्पूर्ण मिसिल नष्ट भएका सूचना अधिकारी दाहालले जानकारी दिए ।
भूमिसुधार फाँटमा पनि ठूलो क्षति पुगेको छ । ७ नम्बर फाँटका धेरै ठेलीहरू पूर्णरूपमा नष्ट भएका छन् भने केही आंशिक रूपमा बाँकी रहेको उनको भनाइ छ । यस्तै मोही नामसारी, बाँडफाँड, राय किताब, हदबन्दी मिसिल र कर्मचारीका व्यक्तिगत फाइलहरू पनि जलेका छन् । कार्यालयले जलेका अभिलेख पुनः कायम गर्ने प्रक्रिया सुरु गरेको सूचना अधिकारी दाहालको भनाइ छ ।
‘स्रेस्ता, तामेली, लिखत र मिसिल जलेका कारण सेवाग्राहीलाई विवरणसहित कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरिएको छ’, सूचना अधिकारी दाहालले भने, ‘अभिलेख कायम गर्ने प्रक्रिया अघि बढेको छ ।’ प्रभावित क्षेत्रका जग्गाधनीहरूलाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन भनिएको दाहालले जानकारी दिए ।
अभिलेख पुनःस्थापना प्रक्रियामा निवेदन, नागरिकताको प्रतिलिपि, प्रमाणपुर्जा (हराएमा तीन पुस्ते सिफारिससहित), लिखत वा मिसिलको प्रतिलिपि र कर रसिद पेश गर्नुपर्नेछ । जलेका अभिलेख पुनःकायम नभएसम्म जग्गासम्बन्धी कारोबार गर्न नपाइने सूचना अधिकारी दाहालले बताए ।
सुरक्षित अभिलेख भने यथावत रहने छन् । कार्यालयका गुनासो अधिकारी अजय राजवंशीले पुनः अभिलेख कायम गर्नुपर्ने बाध्यताले सेवाग्राहीहरूलाई केही असहज भएको बताए । ‘सेवाग्राहीहरूले अब थप कागजात बुझाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘जसका कारण कतिपयले असहज महसुस गरिरहेका छन् ।’

इन्दु साह/संगालोखबर 













