
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्याप्त बिजुली रहेको भन्दै ढुक्क भएर बत्ती बाली तिहार मनाउन सकिने बताएको छ । पर्याप्त बिजुली र व्यवस्थापकीय तयारी रहेकोले तिहारमा विद्युत आपूर्तिमा समस्या नहुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अहिले देशका विद्युत आयोजनाको कुल जडित क्षमता ४ हजार मेगावाट पुगेको छ । त्यसमा केही आयोजना मर्मतका क्रममा रहेकोले दैनिक २७ सयदेखि २८ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
गएको वर्ष तिहारको लक्ष्मीपूजामा अधिकतम माग १६ सय मेगावाटसम्म पुगेको थियो । यस वर्ष १७ सय मेगावाटसम्म पुग्ने प्राधिकरणको अनुमान छ । त्यस अनुसार लक्ष्मीपूजामा देशभर झिलिमिली बनाएर पनि झन्डै १ हजार मेगावाट विद्युत भारततर्फ निर्यात गर्न सकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।
तिहारका बेला उद्योगहरू बन्द हुने भएकोले २ सयदेखि ३ सय मेगावाट विद्युत बचत हुन सक्ने प्राधिकरणको भनाइ छ । यस्तै प्राधिकरणले विद्युत आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन पनि दिएको छ ।

संगालोखबर 













