
विराटनगर । आईसीसी टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर-सिक्सको आफ्नो अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको उपाधि जित्ने अवसर छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो ।
नेपालको चार खेलमा आठ अङ्क छ । सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा रहेर विश्वकप छनोटबाट बाहिरिसकेको छ । दोश्रो स्थानमा रहेको यूएईले सबै पाँच खेल खेल्दै छ अङ्क बनाएको छ ।
चार खेलमा ओमानको छ अङ्कसहित तेश्रो स्थानमा छ । ओमानले आज जापानसँग खेल्दैछ । ओमानको पनि छनोट प्रतियोगिताको उपाधि जित्ने सम्भावना कायमै छ । सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ ।

संगालोखबर 













