
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ सिंहदेवी चोकदेखी मुगाखोला-उत्तरपानी हुँदै धर्मशाला-मन्सी-चौतारा खण्डको ६५० मिटर सडक कालोपत्रे भएको छ । एक करोड ५० लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गरिएको हो ।
कालोपत्रे सडकको पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका छन् । साइमन जेभी धनकुटाले ठेक्का पाएको उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्षमा पनि ३ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
कुल १४ किलोमिटर सडकमध्ये सिंहदेवी चोकदेखि कोसेपानसम्म ६५० मिटर कालोपत्रे सम्पन्न भएको वडा नम्बर ३ का वडाध्यक्ष सरोज राईले जानकारी दिए । सबै सडक आगामी आर्थिक वर्षमा मात्रै कालोपत्रे सकिने उनले बताए ।
‘यो सडकबाट ३, ९ र १० नम्बर वडावासी लाभान्वित हुन्छन्’, उनले भने, ‘सडक स्तरोन्नतिको लागि आर्थिक वर्ष २०८०/८१ मा एक करोड २५ लाख र २०८१/८२ मा दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो । दुई करोड ५० लाखमध्ये एक करोड ५० लाखले सडक कालोपत्रे गरिएको हो । एक करोडले १० नम्बरमा दुई सय मिटर ढलाई भएको छ ।’
यस्तै २०८२/८३ मा तीन करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए । सडक कालोपत्रे सम्पन्न भएसँगै स्थानीय उत्पादन सहजै बजारसम्म पुर्याउन सकिने उनले बताए ।

संगालोखबर 













