
विराटनगर । नेपालले मलेसियासँगको महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको छ । आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा घरेलु टोली मलेसियालाई पाँच विकेटले हराएसँगै नेपालले शृङ्खला ३-२ ले जितेको हो ।
मलेसियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८ औं ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । रुबी पोद्दारले २६ र पुजा महतोले २३ रन बनाइन् । मलेसियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिजान, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान एक विकेट लिइन् ।
त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड एनी दुराईसिंगमले ४०, माहिरा इज्जतीले १९ र ऐना हामिजाह हाशिमले १५ रन बनाइन् ।
नेपालकी राजमती ऐरीले र कविता कुँवरले समान तीन तथा रचनाकुमारी चौधरीले एक विकेट लिइन् । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा छ विकेटले विजयी भएको थियो ।
यस्तै तेश्रो खेलमा नेपाल मलेसियासँग १३ रनले हारेको थियो भने हिजो भएको चौथो खेलमा नेपाल छ विकेटले विजयी भएको थियो । नेपाली महिला टोलीले आउँदो जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।

संगालोखबर 













