
विराटनगर । तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले लामो दूरीका यातायात सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय भएको जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । सोही अनुरूप प्राधिकरणले लामो दूरीका यातायात सञ्चालनमा रोक लगाएको हो ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको प्राधिकरणले सूचनामार्फत जनाएको छ ।
प्राधिकरणका अनुसार भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न लामो दूरीका यातायात सञ्चालनमा रोक लगाइएको हो ।


संगालोखबर 













