
विराटनगर । हाल देशभरको मनसुनी प्रणालीमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मधेस, बागमती, लुम्बिनी, गण्डकी प्रदेशमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस, बागमती र गण्डकीका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।

संगालोखबर 













