संगालोखबर


काठमाडौं । आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज  विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि  चढाउने गर्दछन् ।

Advertisement

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

नवरात्रको अन्तिम दिन महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । सिद्धिदात्रीलाई नवदुर्गा गणकी अन्तिम अर्थात नवौँ देवी मानिन्छ ।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद भोलि विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि समितिले भोलि बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!