
विराटनगर । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले पदभार ग्रहण गरेको भोलिपल्ट शिक्षा क्षेत्रमा तत्काल प्रभाव पार्ने तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् ।
मन्त्री पुनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू कम्प्युटर शिक्षा बाट बञ्चित नहुन भन्ने उद्देश्यले देशभरका विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने घोषणा गरेका छन् । साथै विश्वविद्यालयलाई ३ महिनाभित्रै नतिजा निकाल्न निर्देशन दिएका छन् ।
परीक्षा लिएर परीक्षाफल प्रकाशित गर्न ८ महिना देखि १ वर्षसम्म ढिलाइ गर्ने परिपाटी विद्यार्थीका लागि ‘अपूरणीय क्षति’ भन्दै मन्त्री पुनले अधिकतम ३ महिनाभित्र अनिवार्य नतिजा प्रकाशित गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेका हुन् । समयमै नतिजा ननिकालेका विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने समेत उनले जनाएका छन् ।
उनले राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ५ लाख विद्यार्थीको नतिजा तीन महिनामै सार्वजनिक गर्ने गरेको उदाहरण प्रस्तुत गर्दै विश्वविद्यालयहरूलाई जिम्मेवार बन्न आग्रह गरे ।
यसैगरी त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्रको ठूलो क्षेत्रफलमा फैलिएको झाडी सफा गरेर सुन्दर बगैँचा र पदमार्ग निर्माण गर्ने योजना मन्त्री पुनले अघि सारेका छन् । वातावरणीय सन्तुलनलाई ध्यानमा राखी यस क्रममा ठूला रूख नकाटी काम अघि बढाइने उनले स्पष्ट पारेका छन् ।

संगालोखबर 













