
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेका पाँच मन्त्रीको आज सपथ हुनेछ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको पाँच मन्त्रीको सपथ हुने भएको हो ।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता कौशल मिश्रा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारको नाम सिफारिस गरेकी छन् ।
स्वास्थ्य मन्त्रीमा सिफारिस डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिएकी छन् । यसअघि उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक तथा कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन् ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । उद्योग तथा भूमिसुधार मन्त्रीमा सिफारिस भएका अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।
यसैगरी सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा सिफारिस भएका जगदीश खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । कृषिमन्त्रीमा सिफारिस भएका डा. मदन परियार जलवायु तथा कृषिविज्ञसँगै समता फाउन्डेसनका अध्यक्ष हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराउने छन् ।

संगालोखबर 













