
विराटनगर । आज विराटनगरसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज देशका धेरै ठाउँमा दिनभरी झरी पर्ने सम्भावना छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ । गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ ।
सर्लाही, सप्तरी, रौतहट, उदयपुरलगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । ठूलो पानी परेका ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको र खतरास्वरूप रातो बत्ती बालिएको छ ।

संगालोखबर 













