
विराटनगर । दशैंलाई लक्षित गर्दै भदौ २९ गतेदेखि सर्वसाधारणले सुकिला नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भदौ २९ गतेदेखि सुकिला नोट साट्न सकिने जनाएको हो ।
काठमाडौं उपत्यकामा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशमा प्रदेशस्तरीय कार्यालय विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नोट सटही गर्ने सकिने राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय शाखा कार्यालयबाट समेत सुकिला नोट साट्न सकिनेछ । राष्ट्र बैंकका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म नोट सटही सुविधा उपलब्ध हुनेछ ।
यस वर्षको बडादशैं असोज १६ गते परेको छ । घटस्थापना असोज ६ गते छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट सटहीको व्यवस्था गर्दै आएको छ ।

संगालोखबर 













