
विराटनगर । सरकारले अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भन्दै गरेको निर्णयप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आपत्ति जनाएको छ । नेपाली भाषा र लिपिको अस्तित्व संकटमा पार्ने गरी गरिएको निर्णय तत्कालै सच्याउनुपर्ने भन्दै परिषद्ले देशैभरबाट ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।
जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको परिषद्ले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउँदै परिषद्को प्रतिनिधि टोलीले तत्कालै निर्णय सच्याउन मन्त्री दाहालको ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्थापन कार्यालयले रोमन लिपिमा मात्र नम्बर प्लेट जडान गर्न जारी गरेको सूचना अव्यावहारिक, गैरसंवैधानिक र भाषिक अस्तित्वविरुद्धको योजना भएको परिषद्को ठहर छ ।
नेपालको संविधान २०७२ को धारा ७ ले ‘राष्ट्रिय भाषा नेपाली हो र देवनागरी लिपी आधिकारिक’ भनी स्पष्ट व्यवस्था गरेको छ । यति हुँदाहुँदै पनि नेपाली भाषालाई बेवास्ता गरी रोमन लिपि मात्र प्रयोग गर्न बाध्य पार्ने निर्णयलाई विद्यार्थी परिषद्ले राष्ट्रिय अस्तित्वमाथिको सिधा आक्रमण भनेको छ ।
मन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा निर्णय नसच्याए देशव्यापी आन्दोलन गर्ने चेतावनी परिषद्ले दिएको छ । परिषद्का प्रतिनिधिहरूसँगको भेटमा मन्त्री दाहालले देशभरबाट यो निर्णयविरुद्ध दबाब सिर्जना भइरहेको र विद्यार्थी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकको असन्तुष्टि बढिरहेको बताएका छन् ।
विद्यार्थी परिषद्ले अभियानलाई देशव्यापी बनाएको महासचिव दिनेश कार्कीले जानकारी दिए । भाषा, संस्कृति र संविधानसँग प्रत्यक्ष सम्बन्धित विषयमा सरकारले पर्याप्त छलफल नगरी हतारमा निर्णय गरेको भन्दै यसको विरोध गरिएको कार्कीले बताए ।

संगालोखबर 













