
काठमाडौं । नेपाल शिक्षक महासङ्घले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आफ्ना माग सम्बोधन नभएको भन्दै महासङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको समेत दिएको छ । यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने महासङ्घले जनाएको छ ।
यस्तै भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रका सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम तय भएको छ ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासङ्घले जनाएको छ ।
भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने तयारी भएको महासङ्घले जनाएको छ ।
शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासङ्घले यसप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारण सार्वजनिक गरेको हो ।

संगालोखबर 













