
विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरेको छ । प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय खोलिएको हो ।
प्रदेशको क्षेत्राधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि आजदेखि सञ्चालनमा ल्याइएको हो ।
सुनसरीको इटहरीमा स्थापना गरिएको प्रदेश राजस्व कार्यालयको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रानाले प्रदेश सरकारले सोचे अनुसारको राजस्व संकलन गर्न नसकिरहेको अवस्थामा कार्यालय उद्घाटन गरिएको बताए ।
उनले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्नका लागि कार्यालय सञ्चालनमा ल्याइएको बताए ।
‘कुन-कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन । त्यसको पहिचान गरेर कार्यालयले राजस्व उठाउन सहजीकरण गर्नेछ’, उनले भने, ‘प्रदेश सरकारहरूमा पहिलोपटक कोशी प्रदेश सरकारले यस्तो कार्यालय स्थापना गरेको हो ।’
कोशी प्रदेश सरकारले गत आर्थिक वर्षमा ४ अर्ब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत सफलता हासिल गरेको थियो ।
चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ५ अर्ब ५० करोड राजस्व उठाउने लक्ष्य राखेको छ । कार्यालय उद्घाटन समारोहमा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदी लगायतले आफ्नो धारणा राखेका थिए ।

संगालोखबर 













