
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी ‘प्याब्सन रत्न’बाट सम्मानित भएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पुरीलाई सम्मान गरेका हुन् ।
विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा नेपालको शिक्षामा आधुनिकीकरणको जग हाल्ने व्यक्तित्वको रूपमा पुरीलाई प्याब्सन काठमाडौंले परिभाषित गरेको छ ।
प्याब्सनको विधान निर्माण गर्दै असल संस्कारको विकास गर्ने तथा प्याब्सनको जिल्ला तथा केन्द्रको भवन निर्माण गरेर स्थायी भविष्य निर्माणको काम समेत पुरीले गरेको भन्दै प्रशंसा गरिएको थियो ।
यस्तै आफ्नो जीवनका भोगाइहरूको साहित्यिक कृति ‘खाली खुट्टा’ प्रकाशन गरेर नयाँ पुस्तालाई उर्जा भर्ने काम गरेको भन्दै प्याब्सनले कृतज्ञता व्यक्त गरेको छ ।
प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सम्मानित पुरी शैक्षिक क्षेत्रका पथ प्रदर्शक रहेको चर्चा गरे । पुरीले काठमाडौं प्याब्सनले आफूलाई गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको शैक्षिक उन्नयनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले अहिले संसदीय समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक सवालमा निजी क्षेत्रले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिन राजनीतिक दल, संसद् र सरकारसँग आग्रह गरेका छन् ।

संगालोखबर 













