
काठमाडौं । सरकारले गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने नियम लागू गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने निर्णय गरेको हो ।
सो निर्णय अनुसार आगामी असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने छ । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट गाडी दर्ता, नामसारी र नवीकरण गर्दा असोज एकदेखि लागुहुनेगरि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बैठकको निर्णय छ ।
त्यसको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निष्कर्ष छ ।
यसैगरी छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र भदौ मसान्तभित्र छपाइ शुरु गर्न सुरक्षण मुद्रण केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । यातायात सम्बन्धी सेवा प्रवाह गर्दा कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने व्यवस्था मिलाउन सरकारले निर्देशन समेत दिएको छ ।

संगालोखबर 













