
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले ७ बुँदे सहमति अनुसार सरकार सञ्चालन नगरेको आरोप लगाएका छन् ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले एक वर्षको अवधिमा एउटा बुँदा पनि अघि बढ्न नसकेको उल्लेख गरे । उनले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम पनि गर्न नसकेको दाबी गरे ।
अहिले संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराइसकेको उनको भनाइ थियो । यसकै लागि काँग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत अझै गठन हुन नसकेको उनले बताए ।
सुशासनको विषयमा काँग्रेसभित्र आफूले जति अरु कसैले नबोलेको जिकिर गर्दै उनले लिची बगानको कुरा वा पोखराको जग्गा प्रकरणमा मन्त्रीले राजीनामा दिनुपरेको प्रसङ्ग जोड्दै राजनीतिमा नैतिकताको अपरिहार्यता आवश्यकता रहेकोमा उनले जोड दिए ।
हालसालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वराष्ट्रपति विद्या भण्डारीलगायतका नेताहरूसँगको भेटघाट सामान्य राजनीतिक भेट मात्र भएको उनको भनाइ थियो । उनले नेताहरूलाई भेट्नु कुनै नौलो कुरो नभएको उल्लेख गरे । काँग्रेसको महाधिवेशन २०८२ मै हुनुपर्ने उनले बताए ।

संगालोखबर 













