
विराटनगर । कोशी प्रदेशबाट एक वर्षको अवधिमा २६ हजार किलो बढी गाँजा बरामद भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कोशीका विभिन्न जिल्लाबाट २६ हजार ७०५ किलो गाँजा बरामद भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोही अवधिमा १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरिएको छ । गाँजा ओसार-पसार र बेचबिखनमा संलग्नलाई कडाइका साथ कानुनी दायरामा ल्याइएको कार्यालयले जनाएको छ ।
चेकजाँचमा कडाइ गरेपछि एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी-साधन, तरकारी बोक्ने गाडी, मोटरसाइकल लगायत साना-ठुला सवारी-साधनबाट गाँजा बरामद गरिएको कार्यालयले उल्लेख गरेको छ ।
यस्तै सप्तकोशी नदीमा पानीमा बगाएर तथा जमिन मुनी गाडेर लुकाएर राखेको गाँजा समेत बरामद गर्न सफल भएको कार्यालयले जनाएको छ ।
सो अवधिमा सुनसरी प्रहरीले १२ हजार ३७५ किलो ९२९ ग्राम, मोरङ प्रहरीले ६ हजार ६५० किलो ४०० ग्राम र धनकुटा प्रहरीले ४ हजार १९४ किलो ३०० ग्राम गाँजा बरामद गरेको छ ।
यस्तै उदयपुर प्रहरीले १ हजार ८१० किलो ४८४ ग्राम, झापा प्रहरीले १ हजार ६५१ किलो २८२ ग्रामसहित विभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा २६ हजार ७०५ किलो ५३८ ग्राम गाँजा बरामद गरेको छ ।
गाँजा बेचबिखन तथा ओसार-पसारमा संलग्न रहेका १ सय ६५ जना पुरुष र २४ जना महिलासहित १८९ जना मानिसलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै ओसार-पसारमा प्रयोग भएका ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे सवारी-साधन नियन्त्रणमा लिएको छ ।
कार्यालयका अनुसार धनकुटा प्रहरीले १२ लाख ५९ हजार बोट तथा बेर्ना, भोजपुरले २८ लाख ४६ हजार बोट तथा बेर्ना, उदयपुरले १६ लाख ८ हजार ५ सय बोट तथा बेर्ना र सोलुखुम्बुले २९ हजार ७ सय गाँजाको बोट तथा बेर्ना नष्ट गरेको छ ।
यस्तै खोटाङले २६ हजार २ सय बोट तथा बेर्नासहित विभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा २ हजार ४ सय ६४ रोपनी क्षेत्रफलमा लगाएको १७ लाख ७२ हजार बढी गाँजाको बोट तथा बेर्नाहरू नष्ट गरेको छ ।

संगालोखबर 













