
विराटनगर । साउन महिनाको पहिलो सोमवार आज देशभरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन छ ।
दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ । पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । मूल मन्दिरमा भीड नहुने गरी साउने सोमबारको दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषको दाबी छ ।

संगालोखबर 













