
विराटनगर । कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ । धनकुटाको मूलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरान, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा भारी वर्षा भएको हो ।
सुनसरीको सर्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पर्वतको मोदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टामा धनकुटाको त्रिवेणीमा १९५ दशमलव ६, इलामको माईपोखरी केन्द्रमा १८२ दशमलव २ मिलिमिटर तथा मझुवाघाटमा १७३ मिलिमिटर र लुम्लेमा १६२ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।
मधेश र बाग्मती प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज र भोलि थप पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ ।

संगालोखबर 













