
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठन ( एफएओ) को नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच भेटवार्ता भएको छ ।
आज भएको भेटवार्तामा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरू संचालन गरेकोमा धन्यवाद ज्ञापन गरे ।
उनले मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरूको उत्पादन, बजारीकरण र व्यवस्थापनका काममा सहयोग गर्न आग्रह गरे । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि ,जलवायु र विपद जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिए ।
कोशी प्रदेश सरकार जलवायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेको उल्लेख गरे । उनले यहाँ जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिने बताए ।
आगामी आर्थिक वर्ष विश्व रामसार दिवसका अवसरमा जलवायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले विविध विषयमा सहकार्य गरेर अघि बढ्न कोशी प्रदेश सरकार सकारात्मक रहेको बताए ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठनको प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको उल्लेख गरे । उनले थप काम गर्नका लागि सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जनाए ।
प्रदेश सरकारले सञ्चालन गर्न लागेको कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने उनले बताए । संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको छ ।

संगालोखबर 













