विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले सामाजिक विकास मन्त्रालयले खेलकुद बोर्डलाई न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
विराटनगरमा बोर्डले आयोजना गरेको खेलकुद सरोकारवाला, निजी क्षेत्र र स्थानीय तहसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै बस्नेतले असन्तुष्टि व्यक्त गरेका हुन् ।
सङ्घीय सरकारले खेलकुद क्षेत्रलाई उत्साहित बनाउने प्रयास गरे पनि कोशीको सामाजिक विकास मन्त्रालयले खेलकुद क्षेत्रलाई प्राथमिकता नदिएको उनको तर्क थियो ।
बस्नेतले खेलकुद क्षेत्रमा बजेट अपर्याप्त भएको बेला मन्त्रालयको बजेट कम गर्ने निर्णयले सम्पूर्ण खेलक्षेत्र र खेलाडीहरू निराश भएको बताए । उनले सामाजिक विकास मन्त्री पाँचकर्ण राई र आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरलाई रकम थप गर्न आग्रह गरे ।
आर्थिक मामिला तथा योजना मन्त्री मगरले कोशी प्रदेशमा साहसिक खेलकुद पर्यटनको आधार निर्माण गर्नेगरी काम गर्नुपर्ने बताए । उनले प्रदेशमा खेल क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने उल्लेख गरे ।
सामाजिक विकास मन्त्री राईले आफूले खेलकुद क्षेत्रको बजेट बढाउन मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्रीलाई आग्रह गरेको बताए । तर सीमित स्रोतका कारण बजेट न्यून परेको उल्लेख गरे ।