विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा तीन सय १३ वटा वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेका छन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त उजुरी परेका हुन् ।
रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त उजुरीमध्ये एक सय ३६ वटा छानबिन गरी टुङ्गो लागिसकेका जानकारी दिए ।
उनले ठगिएका व्यक्तिहरूलाई सात करोड बढी रकम फिर्ता गराउन सफल भएको बताए । यस्तै उनले चालु आर्थिक वर्षको सो अवधिमा पाँच हजार आठ सय ७३ जनालाई परामर्श सेवा प्रदान गरेको जानकारी दिए ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव शम्भुप्रसाद साहले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
गतवर्ष कोशीबाट एक लाख ४० हजार वैदेशिक रोजगारीमा गएकामा चालु आर्थिक वर्षको जेठसम्म दुई लाख ६० हजार युवा वैदेशिक रोजगारीका लागि विदेश गएको सामी कार्यक्रमको कोशी-मधेस प्रदेशकी व्यवस्थापक कोपिला दाहालले जानकारी दिइन् ।
हरेक वर्ष वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै गएको उनको भनाइ थियो । संघीय सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, रोहित विश्वकर्मा तथा सामी मोरङ जिल्लाका कार्यक्रम संयोजक दीपक राउतले सहजीकरण गर्नेछन् । कार्यक्रममा मोरङका १७, सुनसरीका १२ र झापाका दुई स्थानीय तहका ३१ जना रोजगार संयोजकहरूको सहभागिता छ ।