
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको खेलकुद सम्बन्धी अन्तर प्रदेश भ्रमणमा आदन-प्रदान साटासाट भएको छ । गण्डकी, बागमती र मधेश प्रदेशका समकक्षी बोर्ड र परिषद्को भ्रमण गर्दै बोर्डले अनुभव साटासाट गरेको हो ।
अनुभव आदान-प्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नेपाल सरकारको नाममा रहेको खेलकुद संरचना प्रदेश मातहत ल्याउने तयारी गरेको बताए । उनले परिषद्ले खेल संस्थाहरू र प्रदेशमा सक्रिय प्रशिक्षक तथा रेफ्रीलाई अनिवार्य सूचिकृत गर्ने व्यवस्था गरेको जानकारी दिए ।
उनले खेलाडी कल्याणकारी कार्यक्रम सञ्चालन कार्यविधि, खेल गतिविधिको टिकटबाट उठेको रकमको केही प्रतिशत कर्मचारी कल्याण कोषमा राख्ने व्यवस्था र खेलाडीलाई मर्यादाक्रममा ल्याउने तयारी गरेको अनुभव साझा गरेका थिए ।
गण्डकी प्रदेश खेलकुद परिषद्का ध्वज कुमार गुरुङले प्रदेशले साहसिक खेलकुद र खेलकुद पर्यटनको प्रवर्द्धनलाई थप प्राथमिकतामा राखेको धारणा व्यक्त गरे ।
त्यस्तै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले नेपालमा स्पोर्ट टुरिजमको रूपमा विकास गर्न केन्द्रीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले प्रदेश खेलकुद परिषद्लाई विश्वासमा लिएर काम गर्नुपर्ने उल्लेख गरे । उनले परिषद्ले ‘प्रथम पारा खेलकुद प्रतियोगिता’ आयोजना गर्न सफल भएको उल्लेख गरे ।
जनकपुर स्थित मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले स्थापना भएको थोरै समयमा समेत प्रदेशले राष्ट्रिय स्तरको ‘मुख्यमन्त्री कबड्डी कप’ आयोजना गर्न सफल भएको बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले भ्रमणसँगै अनुभव आदान-प्रदान फलदायी भएको सुनाए । उनले अन्य प्रदेशमा भइरहेका गतिविधिसँगै कोशी प्रदेशमा भएका खेलकुदका गतिविधि साझा गरेको उल्लेख गरे ।

संगालोखबर 













