विराटनगर । इरानमा रहेका १६ जना नेपालीमध्ये नौ जना स्वदेश फर्किएका छन् । उनीहरूलाई इरानस्थित भारतीय दुतावासको सहयोगमा नेपाल फर्काइएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार ११ जना नेपाली स्वदेश फर्काउने तयारी गरिएको भएपनि नौ जनामात्रै फर्किएका हुन् । एक जनाको कागजी प्रक्रिया नमिलेको र एक जना काम विशेषले उतै बसेका कारण नौ जना मात्रै फर्किएका मन्त्रालयले जनाएको छ ।
अन्य बाँकी पाँच जना भने विभिन्न मुद्दामा इरानको कारागारमा छन् । उनीहरूलाई पनि नेपाली दुतावास दोहामार्फत फर्काउन पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
इजरायल र इरानबीच युद्धविराम भइसकेकाले दुवै देशमा रहेका नेपालीहरू सुरक्षित रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इजरायलमा झन्डै सात हजार नेपाली छन् ।