विराटनगर । आज कोशीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तर कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना छ । २४ घण्टाभित्र ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई महाशाखाले भारी वर्षा भन्ने गरेको छ ।
महाशाखाका अनुसार गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पछिल्लो एक घण्टामा सबैभन्दा धेरै स्याङ्जामा ४८ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै नुवाकोटमा २७ दशमलव ६, बाँकेमा २२ दशमलव ४ र डडेलधुरामा २१ दशमलव ८ मिलिमिटर पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लामो समयसम्म कोशीमा अड्किएको मनसुन हिजोदेखि कोशीसँगै मधेस, बागमती, गण्डकीका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको छ ।