विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा ‘विराट वाङ्मय उत्सव-२०८२’ सुरु भएको छ । विराटनगर महानगरपालिकाको प्रवर्द्धन तथा आरोहण गुरुकुलको आयोजनामा आजबाट उत्सव सुरु भएको हो ।
विराटनगर महानगरपालिकाका कार्यवाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेको महोत्सव भोलि समापन हुनेछ ।
उद्घाटन समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविताहरूको संग्रह र युवाकवि रमेशचन्द्र अधिकारीको माझीहाडाम कवितासंग्रह विमोचन गरिएको छ ।
कार्यबाहक मेयर कार्की, वरिष्ठ कवि जसराज किराँती र आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले दुवै कृतिको संयुक्तरूपमा विमोचन गरेका थिए । सोही अवसरमा आरोहरण गुरुकुलले प्रकाशन गरेको ‘काव्यारोहण’ पनि विमोचन गरिएको थियो ।
कवि रमेशचन्द्र अधिकारी, धीरज राई र दीपेश भण्डारीले गरेको काव्यारोहणमा गुरुकुलले आयोजना गरेको कविता वाचन शृङ्खला ‘काव्यारोहण, आरोहण कवितायात्रा’ मा प्रस्तुत भएका १२ जना कविका पाँच/पाँचवटा कविता समावेश गरेर ‘काव्यारोहण’ प्रकाशित गरिएको आयोजकले जनाएको छ ।