विराटनगर । कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरको सहिद रङ्गशालामा छनोट प्रतियोगिता सुरु भएको हो ।
११ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गरे । कार्यक्रममा बोल्दै सभामुख विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, खेलकुद लगायतका क्षेत्रमा पनि लगानी बढाउनुपर्ने बताए ।
उनले कोशी प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुद क्षेत्रका लागि फराकिलो मन बनाएर रकम विनियोजन गर्न अनुरोध गरे ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले प्रदेश सरकारको आगामी बजेट खेलक्षेत्र र खेलाडीलाई प्राथमिकतामा राखेर निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री राईले छोटो समयको सूचनाको आधारमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा सरोकारवाला र खेलाडीहरूलाई धन्यवाद दिए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रतियोगितामा विजयी हुने खेलाडीलाई बोर्डले उचित सम्मान गर्ने बताए । उनले खेलाडीले सम्मानपूर्वक बाच्न सक्ने अवस्थाको निर्माणका लागि बोर्डले काम गरिरहेको उल्लेख गरे ।
बस्नेतले प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी नभएका सोलुखुम्बु, सुनसरी र खोटाङलाई प्रतियोगितामा खेलाडीको सहभागी हुने अधिकार सुनिश्चित गर्न असफल भएको भन्दै जिल्ला खेलकुद विकास समितिलाई आवश्यक कारबाही हुने बताए ।
छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा झन्डै एक हजार खेलाडी सहभागि छन् । प्रतियोगितामा विजयी खेलाडीहरूले जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने १५ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउनेछन् ।