विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले कोशी र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत क्रिकेट सामग्री हस्तान्तरण गरेको छ ।
परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा सामग्री हस्तान्तरण गरिएको हो । ‘हार्ड बल र सफ्ट बल क्रिकेट’ दुवैलाई मध्यनजर गर्दै विविध सामग्रीहरू प्रदान गरिएको छ । जसमा क्रिकेट ब्याट, हेलमेट, प्याड, ग्लोभ्स, लेदर बल, टेनिस बल, स्टाम्प, कोन्स तथा किट ब्यागहरू समावेश छन् ।
नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठ, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्बजीतराज पाण्डे, सम्बन्धित जिल्ला क्रिकेट संघका अध्यक्ष तथा प्रतिनिधि लगायतले सामग्री हस्तान्तरण गरेका थिए ।
परियोजनाको उद्देश्य दुबै प्रदेशमा क्रिकेटको पहुँच र समानता सुनिश्चित गर्नु रहेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए । परियोजनाको विद्यालय, ग्रामीण क्षेत्र र पिछडिएको समुदायमा खेलको पहुँच विस्तार गर्दै युवा प्रतिभालाई पहिचान गर्न केन्द्रित रहेको उनको भनाइ छ ।