
विराटनगर । कोशी प्रदेशका धेरै स्थानमा मनसुनी वायुको प्रभाव रहेकोले विराटनगरसहित अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा ,सप्तरी, सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बु, धनकुटा, भोजपुर लगायतका ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति छिटपुट वर्षा भएको छ । आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

संगालोखबर 













